दफा १७
दोहोरो नाम हटाउने
(१) दफा १६ बमोजिम मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिएकोमा आयोगले तोकेको अधिकारीले त्यस्तो नाम हटाउनु पर्नेछ ।
(२) दफा १६ बमोजिम निवेदन नदिए तापनि आयोगलाई कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त हुन आएमा त्यस्तो मतदाताको नाम निज स्थायी बसोबास गर्दै आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा कायम गरी अन्य गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीबाट हटाउन आयोगले सम्बन्धित नाम दर्ता अधिकारीलाई आदेश दिन सक्नेछ ।
(३) नाम दर्ता अधिकारी स्वयंलाई कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त भएमा एउटै गाउँपालिका वा नगरपालिकाको वडाभित्र दोहोरो परेकोमा सहायक नाम दर्ता अधिकारीले र एउटै जिल्ला भित्रका कुनै गाउँपालिका वा नगरपालिकामा दोहोरो परेकोमा सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीले तथा फरक फरक जिल्लाको गाउँपालिका वा नगरपालिकामा दोहोरो परेकोमा आयोगले तोकेको अधिकारीले त्यस्तो मतदाताको नाम निज स्थायी बसोबास गर्दै आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा कायम गरी अन्य गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीबाट हटाउनु पर्नेछ ।