दफा ५२
धरौटी फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा
: (१) यस ऐन बमोजिम कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द भएमा वा त्यस्तो कम्पनीले इजाजतपत्र बमोजिमको व्यवसाय नगर्ने भएमा त्यस्तो इजाजतपत्रवालाले इजाजतपत्र लिँदा राखेको धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी
फुकुवा गरिदिन विभागमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिँदा इजाजतपत्रवालाले नेपाल सरकार वा अरु कसैलाई कुनै रकम तिर्न बुझाउन बाँकी रहे नरहेको व्यहोरा समेत खुलाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले त्यस्तो धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम धरौटी वा बैङ्क ग्यारेण्टी फुकुवा गर्नु अघि विभागले त्यस्तो इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकबाट कसैले कुनै रकम लिन बाँकी भए सबुद प्रमाण सहित दाबी गर्न आउनु भनी तीस दिनको म्याद दिई राष्ट्रियस्तरको
दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्रकाशित सूचनामा तोकिएको म्यादभित्र कसैको दाबी परी त्यस्तो दाबी उपर जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा वा इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको लागि कसैबाट कुनै रकम लिएको तर वस्तु उपलब्ध नगराएको व्यहोरा प्रमाणित भएमा विभागले त्यस्तो रकम सम्बन्धित व्यक्तिलाई पन्ध्र दिनभित्र फिर्ता गर्न सम्बन्धित इजाजतपत्रवालालाई आदेश दिनेछ ।
(६) उपदफा (५) बमोजिम विभागले दिएको आदेश अनुसार इजाजतपत्रवालाले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्ने रकम फिर्ता नगरेमा त्यस्तो रकम विभागले इजाजतपत्रवालाले राखेको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गरी सम्बन्धित
व्यक्तिलाई भराई दिनु पर्नेछ ।
(७) उपदफा (४) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र कसैको दावी नपरेमा, दावी परी उपदफा (५) बमोजिम त्यस्तो रकम इजाजतपत्रवालाले फिर्ता गरेको प्रमाण प्राप्त भएमा वा उपदफा (६) बमोजिम सम्बन्धित व्यक्तिलाई भराई दिएपछि विभागले बाँकी रहेको धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गरी दिनु पर्नेछ ।
(८) उपदफा (६) बमोजिम धरौटी वा बैङ्क ग्यारेण्टीबाट रकम फिर्ता दिन नपुग भएमा त्यस्तो नपुग भए जति रकम इजाजतपत्रवालाको सञ्चालकबाट प्रचलित कानून बमोजिम भराई दिन सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(९) उपदफा (४) बमोजिम सूचना प्रकाशन गर्दा लाग्न गएको खर्च सम्बन्धित इजाजतपत्रवालाको बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गर्नु पर्नेछ ।