दफा ३०
धितोको सम्पत्ति खरिद गर्दाको असर
(१) धितोको हक रहेको कुराको जानकारीबिना र सो धितोको हक परिपक्व हुनुअगावै कुनै खरिदकर्ताले सो धितोको सम्पत्तिबापत मूल्य तिरी खरिद गरेको भए त्यस्तो खरिदकर्ताले खरिद गरेको धितोको सम्पत्तिमा रहेको धितोको हकले त्यस्तो खरिदकर्तालाई कुनै असर पार्ने छैन । तर मूर्त सम्पत्तिउपरको धितोको सम्पत्तिको हक त्यस्तो सम्पत्ति त्यसरी धितो राखेको जानकारीबिना र सो धितोको हक परिपक्व हुनुअगावै खरिदकर्ताले प्राप्त गरिसकेको हुनु पर्नेछ । (२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कुरामा देहायबमोजिम हुनेछः– (क) नियमित व्यावसायिक कारोबारको सिलसिलामा मालसामान खरिद गर्ने खरिदकर्ताको हकमा त्यस्तो मालसामानउपर रहेको धितोको हक परिपक्व भएको र धितोको हक रहेको जानकारी निजलाई भएको भए तापनि त्यस्तो मालसामानमा रहेको धितोको हकले निजलाई कुनै असर पार्ने छैन, (ख) उपभोग्य वस्तु खरिद गर्ने व्यक्तिले धितोसम्बन्धी हकको जानकारीबिना र उपभोग्य वस्तु समाबेश गर्ने सूचना दर्ता गर्नुअगावै त्यस्ता मालसामान खरिद गरेमा त्यस्तो उपभोग्य वस्तुमा रहेको धितोकोे हक परिपक्व भए तापनि वा नभए तापनि सो व्यक्तिलाई त्यस्तो उपभोग्य वस्तुमा रहेको धितोको हकले कुनै असर पार्ने छैन, (ग) क्रमसंख्या अङ्कित सवारी साधन खरिद गर्ने व्यक्तिले सो सवारी साधनमा रहेको धितोको हकको ज्ञान बेगर वा दर्ता गरिएको सूचनामा सो सवारी साधनको क्रमसंख्या विवरण उल्लेख नगरेको वा त्यस्तो विवरण गलत ढङ्गले उल्लेख गरेको भएमा त्यस्तो क्रमसंख्या अङ्कित सवारी साधनमा रहेको धितोको हकले निजलाई कुनै असर पार्ने छैन, (घ) कृषिजन्य उत्पादन खरिद गर्ने व्यक्तिको हकमा,– (१) उपभोग्य वस्तुको रुपमा उपभोग गर्न खरिद गरिएको कृषिजन्य उत्पादनमा रहेको धितोको हकले असर पार्ने छैन, (२) उपभोग्य वस्तुको रुपमा उपभोग गर्न खरिद नगरिएको कृषिजन्य उत्पादनको हकमा धितोको हकको जानकारीबिना तथा त्यस्तो हक परिपक्व हुनुअगावै त्यस्तो कृषिजन्य उत्पादन बुझी लिएमा त्यस्तो कृषिजन्य उत्पादनमा कायम रहेको धितोको हकले असर पार्ने छैन ।