दफा ३३
धितोको सम्पत्तिको बेचबिखन र त्यसबाट प्राप्त लाभ
(१) यस ऐनमा अन्यथा व्यवस्था भएको वा पक्षहरु बीच अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिको बिक्री, पट्टा, इजाजत, विनिमय, बेचबिखन वा अन्य किसिमले हस्तान्तरण गरिएको भए तापनि सो धितोको सम्पत्तिउपर रहेको धितोको हक निरन्तर रही रहनेछ । (२) यस ऐनमा अन्यथा व्यवस्था भएको वा पक्षहरु बीच अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिको बेचबिखन पछि सोबाट प्राप्त लाभमा धितोको हक आबद्ध हुनेछ । (३) मूल धितोको सम्पत्तिमा धितोको हक परिपक्व भएकोमा त्यस्तो मूल धितोबाट प्राप्त लाभउपर पनि धितोको हक कायमै रही रहनेछ । देहायको अवस्थामा बाहेक धितो दिने व्यक्तिले प्राप्त गरेको लाभ सो लाभ प्राप्त गरेको मितिले बीस दिन पछि सो लाभमा रहेको धितोको हक परिपक्व हुने छैनः– (क) दर्ता गरिएको सूचनाले शुरुको धितोको सम्पत्ति समेटेमा र त्यस्तो शुरुको धितोको सम्पत्तिबाट प्राप्त भएको लाभ नगद लाभ भएमा वा शुरुको सूचनामा जुन प्रकृतिको लाभ उल्लेख गरिएको थियो सोही प्रकृतिको लाभ प्राप्त भएमा, वा (ख) बीस दिनको समय अवधि समाप्त हुनुअगावै त्यस्तो लाभउपर धितोको हक परिपक्व गराईएको भएमा ।