दफा ७ट
नयाँ प्रविधि वा आफैं उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था
(१) सूचक संस्थाले प्रचलनमा आइसकेका वा नयाँ उपकरण तथा व्यापारिक अभ्यास, आफैं उपस्थित नहुने ग्राहक वा कारोबार, वितरण प्रणाली वा नवीन वा विकासको क्रममा रहेको प्रविधिबाट सिर्जना हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा सोको मूल्यांकन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्यांकन त्यस्तो उपकरण, व्यापारिक अभ्यास, वितरण प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अगावै गर्नु पर्नेछ । (३) सूचक संस्थाले उपदफा (१) बमोजिम पहिचान तथा मूल्यांकन गरिएको जोखिमको व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउनु पर्नेछ । (४) आफैं उपस्थित नहुने ग्राहकसग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी विशेष जोखिमलाई सम्बोधन गर्न सूचक संस्थाले ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।