नियम
निबेदन दिनुपर्ने
(१) कुनै उद्योगमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृतिको लागि देहाय बमोजिमका विवरण तथा कागजात संलग्न राखी अनुसूची-२ बमोजिमको ढाँचामा विदेशी लगानी स्वीकृत गर्ने निकायसमक्ष निवेदन दिनु पर्नेछ:-
(क) लगानीको कार्ययोजना सहितको परियोजना प्रस्तावक - दुई प्रति,
(ख) एकभन्दा बढी लगानीकर्ता भएमा त्यस्ता लगानीकर्ता बीच भएको संयुक्त लगानी सम्झौता -दुई प्रति,
(ग) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्ति भएमा निजको राहदानीको प्रतिलिपि र व्यक्तिगत विवरण (बायोडाटा),
(घ) विदेशी लगानीकर्ता कम्पनी भएमा सम्बन्धित मुलुकमा कम्पनी दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, सञ्चालक र शेयरधनी खुल्ने कागजात, कम्पनीको प्रोफाइल र नेपालमा लगानी गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समितिको निर्णय,
(ङ) विदेशी लगानीकर्ता फर्म भएमा त्यस्तो फर्मको दर्ता प्रमाणपत्र, साझेदार भए सोको विवरण खुल्ने कागजात र नेपालमा लगानी गर्ने सम्बन्धमा साझेदारहरुबीच भएको निर्णय र फर्मको प्रोफाइल,
(च) विदेशी लगानीकर्ता नेपाली मूलको विदेशी नागरिक वा विदेशमा बस्ने नेपाली नागरिक भए सो पुष्टी हुने कागजात,
(छ) विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संस्था भएमा त्यस्तो संस्थाको विधान, सञ्चालकको परिचय खुल्ने कागजात, संस्थाको प्रोफाइल र नेपालमा लगानी गर्ने सम्बन्धमा भएको संस्थागत निर्णय,
(ज) विदेशी लगानीकर्ता आफै उपस्थित हुन नसक्ने भएमा निजले दिएको अख्तियारी पत्रको प्रतिलिपि र अख्तियारवालाको परिचय खुल्ने कागजात,
(झ) विदेशी लगानीकर्ताको विदेशस्थित बैङ्कबाट जारी भएको फाइनान्सियल क्रेडिबिलिटी सर्टिफिकेट,
(न) विदेशी लगानी स्वीकृत गर्ने निकायले निर्णय गरी माग गरेको अन्य विवरण र कागजात ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा विदेशी लगानी स्वीकृत गर्ने निकायले निर्धारण गरे बमोजिम विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ।
(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा उपनियम (१) बमोजिम पेश गर्नुपर्ने सम्पूर्ण विवरण तथा कागजात पेश भएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले सात दिनभित्र त्यस्तो विदेशी लगानी स्वीकृत गरी सोको जानकारी अनुसूची-३ बमोजिमको ढाँचामा निवेदकलाई दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम निवेदन जाँचबुझ गर्दा विदेशी लगानीको स्वीकृति दिन नसकिने देखिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले सोको कारण सहितको जानकारी निर्णय भएको मितिले सात दिनभित्र सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।