नियम ४
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) आयोगबाट प्रकाशित निर्वाचन कार्यक्रम आफ्नो कार्यालय र सम्बन्धित स्थानीय तहको कार्यालयमा प्रकाशन गर्ने वा गराउने,
(ख) आयोगबाट प्राप्त भएको मतदान केन्द्रको सूची आफ्नो कार्यालयमा प्रकाशन गर्ने वा गराउने,
(ग) निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सहायक निर्वाचन अधिकृत तथा अन्य कर्मचारी नियुक्ति गर्ने । यसरी नियुक्ति गर्दा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरु मध्येबाट गर्ने,
(घ) …….
(ङ) …….
(च) सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि निर्वाचन तथा मतदान सम्बन्धी प्रक्रियाको विषयमा आयोजना गरिने तालीम कार्यक्रममा सरिक हुने,
(छ) ……..
(ज) मतदानकेन्द्र तथा मतगणना गर्ने स्थान र सो कार्यमा खटिने कर्मचारीको आवश्यक सुरक्षा प्रबन्धको लागि स्थानीय प्रशासनसँग समन्वय गर्ने,
(झ) मतदानको दिन मतदान केन्द्रमा मतदान कार्यको अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने,
(ञ) मतदान कार्य समाप्त भएपछि मतदानकेन्द्रबाट मतगणना गर्न तोकिएको स्थानमा प्राप्त भएका मतपेटिका बुझी सुरक्षित साथ राख्ने,
(ट) सम्बन्धित स्थानीय तहका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएपछि मतगणना गर्ने,
(ठ) मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणामको घोषणा गर्ने,
(ड) निर्वाचन सम्पन्न भएपछि सोको परिणामको विवरण जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र आयोगमा पठाउने,
(ढ) आयोगबाट स्वीकृत स्थानीय तह निर्वाचन आर्थिक निर्देशिकामा उल्लेख भए बमोजिम खर्च लेख्ने र लेखा राख्ने,
(ण) निर्वाचन सम्बन्धी सम्पूर्ण खर्चको आन्तरिक लेखा परीक्षण गराई सो सम्बन्धी सम्पूर्ण विवरण सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउने,
(त) निर्वाचन पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने,
(थ) प्रचलित कानूनी व्यवस्था र निर्वाचन आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनहरुको अधीनमा रही निर्वाचन कार्यक्रम अनुसारका सबै कार्य सम्पन्न गर्ने ।
(२) गाउँपालिका वा नगरपालिकाको निर्वाचनको लागि नियुक्त निर्वाचन अधिकृतले सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला र दलित वा अल्पसङ्ख्यक सदस्यकोे लागि हुने निर्वाचनको लागि समेत निर्वाचन अधिकृतको रुपमा काम गर्नेछ ।