नियम ३०
निर्वाचन कार्यक्रमको सूचना टाँस गर्नु पर्ने

(१) नियम २९ को उपनियम (१) र (२) बमोजिमका निर्वाचन अधिकृतले सो नियमको उपनियम (३) को खण्ड (क) बमोजिम निर्वाचन कार्यक्रम तयार गर्दा देहाय बमोजिमका कार्यक्रम क्रमबद्ध रुपमा उल्लेख गर्नु पर्नेछ र त्यस्तो कार्यक्रम सञ्चालन गरिने मिति, समय र स्थान समेत तोक्नु पर्नेछ ः-
(क) मतदाता नामावली प्रकाशन गर्ने,
(ख) मतदाता नामावली सच्याउन निवेदन दिने,
(ग) उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने,
(घ) मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने,
(ङ) उम्मेदवारको विरोधमा उजुरी दिने,
(च) मनोनयन पत्रको जाँच गर्ने,
(छ) उम्मेदवारको नामावली प्रकाशन गर्ने,
(ज) उम्मेदवारले नाम फिर्ता लिने,
(झ) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने,
(ञ) उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने, र
(ट) मतदान गर्ने ।
(२) नियम २९ को उपनियम (१) बमोजिमको निर्वाचन अधिकृतले गाउँसभा वा नगरसभाको निर्वाचन घोषणा भएको तीन दिनभित्र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्वाचनको कार्यक्रम प्रकाशन गर्नु पर्नेछ ।
(३) नियम २९ को उपनियम (२) बमोजिमको निर्वाचन अधिकृतले जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी कार्यक्रम आयोगले तोके बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(४) सम्बन्धित निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरेकोे जानकारी सम्भव भएसम्म सम्बन्धित राजनीतिक दलका कार्यालयलाई दिनु पर्नेछ ।