नियम १६
निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न निवेदन दिने
(१) निर्वाचनमा भाग लिन चाहने ऐनको दफा ४ बमोजिम आयोगमा दर्ता भएका दलले नियम १५ को उपनियम (१) बमोजिम तोकिएको अवधिभित्र आयोग समक्ष अनुसूची–१२ बमोजिम निवेदन दिनु पर्नेछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ५ बमोजिम छुट्टै बनेको नयाँ दल वा ऐनको परिच्छेद-९ बमोजिम बिवाद निरुपण गर्दा भएको निर्णय बमोजिम दर्ता भएको दल बा त्यस्तो विवादमा पक्का रहेको दलले निर्वाचन प्रयोजनको लागि दर्ता हुन आयोगले तोकेको अवधिभित्र उपनियम (१) बमोजिम निवेदन दिनु पर्नेछ।
(२ ) उपनियम १ बमोजिमको निवेदन सम्बन्धित दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले दिनु पर्नेछ ।
(३) दलले निर्वाचन प्रयोजनको लागि दर्ता हुन निवेदन दिँदा दलको विधान, घोषणापत्र तथा अघिल्लो आर्थिक वर्षको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ । तर सोभन्दा अगाडिका वर्षको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश नगर्ने दलले त्यस्ता वर्षको लेखा परीक्षण प्रतिवेदन समेत पेश गर्नु पर्नेछ ।
(४) एकीकरण भई वा गाभिई नयाँ कायम भएको दलले उपनियम (३) बमोजिम वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्दा देहाय बमोजिमको प्रतिवेदन पेश गर्नु पर्नेछ :-–
(क) सोही आर्थिक वर्षमा एकीकरण भई वा गाभिई नयाँ कायम भएको दलले अघिल्लो आर्थिक वर्षमा कायम रहेका प्रत्येक दलको अलग अलग वार्षिक लेखा परीक्षण प्रतिवेदन, (ख) अघिल्लो आर्थिक वर्षमा एकीकरण भई वा गाभिई नयाँ कायम भएको दलले एकीकरण भएका वा गाभिएका साविकका दलको विवरण समेत देखिने गरी तयार गरिएको हाल कायम रहेको दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन ।
(५) निर्वाचन प्रयोजनको लागि दर्ता हुने आर्थिक वर्षमा नियम ५ बमोजिम दर्ता भएको दलले लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकको दलको लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।