दफा २७
निलम्बन गर्न सक्ने
(१) कुनै श्रमजीवी पत्रकारको सम्बन्धमा दफा २६ मा लेखिएको कुनै अभियोगको जाँचबुझ गर्नु पर्ने भएमा जाँचबुझ समाप्त नहुन्जेल सम्म त्यस्तो श्रमजीवी पत्रकारलाई व्यवस्थापकले निलम्बन गर्न सक्नेछ । तर देहायको अवस्था नभई साधारणतया निलम्बन गरिने छैनः–
(क) निलम्बन नगरी श्रमजीवी पत्रकारलाई काम गर्न दिंदा झुट्टा सबुद प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरूद्धको सबुद प्रमाण गायब गर्न सक्ने सम्भावना भएमा, वा
(ख) निलम्बन नगरी श्रमजीवी पत्रकारलाई काम गर्न दिंदा सञ्चार प्रतिष्ठानलाई हानी नोक्सानी हुने भएमा ।
(२) उपदफा (१) बमोजिम कुनै श्रमजीवी पत्रकारलाई तीन महिना भन्दा बढी अवधि निलम्बन गर्नु हुँदैन ।
(३) उपदफा (१) बमोजिम निलम्बनमा परेको श्रमजीवी पत्रकार सेवामा बहाल भएमा वा सेवाबाट हटाइएमा निजको निलम्बन समाप्त हुनेछ ।
(४) उपदफा (१) बमोजिम निलम्बन भएको श्रमजीवी पत्रकारले त्यस्तो निलम्बनको अवधिभर आधा पारिश्रमिक पाउनेछ र निज उपर लागेको अभियोगबाट सफाई पाएमा त्यसरी निलम्बन भएको अवधिभरको पूरा पारिश्रमिक पाउनेछ ।