५. नीति
५.१. परमाणु ऊर्जाको व्यापकता र प्रकृति अनुरूप यसको शान्तिपूर्ण प्रयोग गर्ने नीति तथा कार्यक्रम अवलम्वन गर्नुका साथै आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, औद्योगिक, वैदेशिक, कृषि नीति तथा कार्यक्रमहरूको पारस्परिक प्रभावमा सन्तुलन एवं समन्वय कायम गर्ने ।
५.२. परमाणु ऊर्जा र यस सम्बन्धी अनुशरणीय, आधारभूत, व्यवहारिक एंव शैक्षिक पक्षको अनुसन्धान तथा विकास कार्यलाई समुचित रूपमा उपयुक्त र उपलब्ध सम्पूर्ण उपायहरूद्वारा सम्बद्र्धन, प्रवद्र्धन एवं प्रोत्साहित गर्ने ।
५.३. सामाजिक एवं आर्थिक विकासका निमित्त महत्वपूर्ण भूमिका खेल्न सक्ने परमाणु ऊर्जा सम्बन्धी लक्ष्यमुखी अनुसन्धान कार्यलाई विशेष ग्राह्यता दिने ।
५.४. खाद्य, कृषि, चिकित्सा, उद्योग एवं जलश्रोतको समुचित विकास गर्न तथा भू–विज्ञान, भू–रसायन,भू–भौतिक विज्ञान जस्ता विधाहरूको अध्ययन, वातावरणीय प्रदूषण मापन, विकिरण स्थिती मापन, अनुगमन तथा खनिज भण्डारको पहिचान गरी उपयोगमा ल्याउने कार्यक्रमहरूमा विशेष जोड दिने ।
५.५. परमाणु उर्जाको क्षेत्रमा प्राज्ञिक अध्ययन, अनुसन्धान र ज्ञानलाई विस्तृतीकरण गर्न विश्वविद्यालय लगायतका प्राज्ञिक तथा यस क्षेत्रमा कार्यरत संस्थाहरूलाई संलग्न गराई लक्ष्य प्राप्तिको प्रयासलाई प्रभावकारी बनाउने ।
५.६. परमाणु ऊर्जाको समुचित विकास तथा शान्तिपूर्ण प्रयोगका निमित्त विशेष कानुनी एवं संस्थागत संयन्त्रको विकास गर्ने । यसो गर्दा युरेनियम तथा अन्य रेडियोधर्मी वस्तुहरूको निकासी, पैठारी, खरिद, बिक्री, सञ्चय, परिवहन, उपयोग, विकिरण सुरक्षा, रेडियोधर्मी सुरक्षा सम्बन्धी कुराहरूलाई समेत ध्यानमा राख्ने ।
५.७. क्षेत्रीय एवं अन्तरराष्ट्रिय क्षेत्रमा परमाणु उर्जाको विकास तथा शान्तिपूर्ण प्रयोग पश्चात अवशेष रहेको रेडियोधर्मी पदार्थहरूको व्यवस्थापनमा द्विपक्षीय एवं बहुपक्षीय पारस्परिक सम्बन्ध एवं सहयोगलाई अभिवृद्धि गर्ने ।
५.८. खाद्य पदार्थहरूमा विकिरणको मात्राको परीक्षणको विधि निर्धारण गरि राष्ट्रिय मापदण्ड तयार गर्ने ।
५.९. परमाणु ऊर्जाको विकास एवं प्रयोग गर्दा अन्तरराष्ट्रिय स्तरका सुरक्षाका उपायहरू अवलम्वन गर्ने । प्रकृतिसँग सामञ्जस्यता कायम राखी वातावरणीय सन्तुलन कायम राख्नुका साथै प्राकृतिक बासस्थानको अवस्थामा सुधार गर्ने ।
५.१०. परमाणु विज्ञानको क्षेत्रमा उच्चस्तरीय मानव संशाधनको विकास गर्ने र यसका लागि तत्कालीन आवश्यकताहरूको परिपुर्ती गर्न सक्षम जनशक्ति विकासमा जोड दिने ।
५.११. मुलुकका सरकारी तथा गैरसरकारी निकायहरू, विश्वविद्यालयहरू एवं अनुसन्धानशालाहरूमा उपलब्ध जनशक्तिलाई एकीकृत एवं वहुपक्षीय रूपमा प्रयोग गर्ने तथा यससंग सम्वन्धित अन्तरराष्ट्रियस्तरका संघ तथा संस्थाहरूसंग सहकार्य तथा आवश्यक संझौता गर्ने ।
५.१२. परमाणु ऊर्जा सम्बन्धी प्रविधि छनौट, ग्रहण, समायोजन, प्रयोग, सम्भार एवं परिचालन गर्न सक्ने क्षमताको विकास गर्ने ।
५.१३. जनमानसमा परमाणु ऊर्जा सम्बन्धी जनचेतना जगाउनका निमित्त सम्भाव्यध उपायहरूको प्रयोग गर्ने ।
५.१४. परमाणु विज्ञानको क्षेत्रमा, सूचना संंकलन, सङ्ग्रह एवं प्रवाहको लागि राष्ट्रियस्तरको सूचना प्रणालीको स्थापना गर्ने ।