दफा १८
नेपाल प्रहरीका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा खटाउन सकिने
(१) प्रदेश प्रहरीको स्वीकृत सङ्गठन संरचना तथा दरबन्दीमा प्रदेश प्रहरी कर्मचारी अपुग भएको अवस्थामा सम्बन्धित प्रदेश मन्त्रालयले नेपाल प्रहरीका प्रहरी कर्मचारी खटाई दिन मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुरोध भई आएमा मन्त्रालयले आवश्यक सङ्ख्यामा नेपाल प्रहरीका प्रहरी कर्मचारीलाई अवधि तोकी प्रदेश प्रहरीमा खटाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम प्रदेश प्रहरीमा खटाइएको नेपाल प्रहरीको प्रहरी कर्मचारी नेपाल प्रहरीको रिक्त पदमा बढुवाको लागि योग्य हुनेछन्‌।
(४) उपदफा (२) बमोजिम प्रदेश प्रहरीमा खटाइएको प्रहरी कर्मचारीलाई सम्बन्धित प्रदेश मन्त्रालयसँग समन्वय गरी अन्य प्रदेश प्रहरी सङ्गठनमा वा नेपाल प्रहरीमा सरुवा गर्न वा काज खटाउन सकिनेछ।