दफा
पदाधिकारी र सदस्यहरुको भत्ता

(१) पदाधिकारी र सदस्यलाई संघीय संसदको कुनै सदन वा कुनै समिति वा उपसमिति वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएको प्रत्येक दिनको लागि बैठक भत्ता बापत अनुसूची–१ बमोजिमको रकम दिइनेछ ।
तर सदन र समितिको बैठक एकै दिन बसेकोमा पदाधिकारी र सदस्यले एक दिनको मात्र भत्ता पाउनेछ । सदन र समितिको बैठक बापत छुट्टा छुट्टै भत्ता दिइने छैन ।

(२) संघीय संसदको कुनै सदनको अधिवेशन आरम्भ हुँदा त्यस्तो सदनको बैठक वा सदनको अधिवेशन नभएको अवस्थामा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिने पदाधिकारी वा सदस्यलाई बैठक प्रारम्भ हुनु भन्दा तीन दिन अघि देखि र बैठक अन्त्य भएको तीन दिन पछिसम्म प्रत्येक दिनको लागि उपदफा (१) बमोजिमको दरले भत्ता दिइनेछ ।
तर सदन वा समितिको बैठकको प्रारम्भमा अनुपस्थित रहेको पदाधिकारी वा सदस्यले उपस्थित भएको दिन भन्दा तीन दिन अघि देखिको मात्र भत्ता पाउनेछ ।

(३) आफ्नो स्थायी बासस्थानबाट संसदको अधिवेशन वा समितिको बैठकमा भाग लिन आउँदा र भाग लिएर आफ्नो बासस्थान भएको क्षेत्रतर्फ फर्कदा पदाधिकारी र सदस्यलाई दफा ९ बमोजिमको भत्ता दिइनेछ ।
तर कुनै पदाधिकारी वा सदस्य निर्वाचित भएको क्षेत्र र निजको स्थायी बासस्थान भएको क्षेत्र भिन्ना भिन्नै भएमा ती दुई स्थानमध्ये कुनै एक स्थानबाट आउँदा जाँदा त्यस्तो भत्ता दिइनेछ ।