नियम २
परिभाषा
विषय वा प्रसँङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले खानी तथा खनिज पदार्थ ऐन, २०४२ सम्झनु पर्छ ।
(ख) “अनुमतिपत्र” भन्नाले कुनै खनिज पदार्थको खोजतलास कार्य र उत्खनन् कार्य गर्न यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्र सम्झनु पर्छ ।
(ग) “खानीद्वार” भन्नाले खनिज क्षेत्रबाट खनिज पदार्थ बाहिर निकासा गरिने मूलद्वार सम्झनु पर्छ ।
(घ) “खास खनिज पदार्थ” भन्नाले कुनै खनिज पदार्थको सम्बन्धमा विभागले खनिज सम्झौता गरी खनिज कार्य गर्न अनुमतिपत्र दिएको वा कुनै खनिज कार्य विभाग तथा विभागले तोकेको अन्य सरकारी निकायले मात्र गर्न पाउने गरी नेपाल सरकारले तोकेको खनिज पदार्थ सम्झनु पर्छ ।
(ङ) “समिति” भन्नाले नियम ३५ बमोजिम गठित खानी विकास समिति सम्झनु पर्छ ।
(च) “केन्द्र” भन्नाले नियम ३९ बमोजिम स्थापना भएको खनिज पदार्थ विकास केन्द्र सम्झनु पर्छ ।