विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “विश्वविद्यालय” भन्नाले दफा ३ बमोजिम स्थापित पूर्वाञ्चल विश्वविद्यालय सम्झनु पर्छ ।
(ख) “सभा” भन्नाले दफा ७ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ ।
(ग) “प्राज्ञिक परिषद्” भन्नाले दफा १० बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।
(घ) “कार्यकारी परिषद्” भन्नाले दफा १२ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ ।
(ङ) “साधन–श्रोत परिषद्” भन्नाले दफा १४ बमोजिमको साधन–श्रोत परिषद् सम्झनु पर्छ ।
(च) “डीन” भन्नाले विश्वविद्यालय अन्तर्गत स्थापित विभिन्न संकायका प्रमुख सम्झनु पर्छ ।
(छ) “क्याम्पस” भन्नाले विश्वविद्यालयको आङ्गिक क्याम्पस सम्झनु पर्छ र सो शव्दले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई समेत जनाउनेछ ।
(ज) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने वा अनुसन्धान गर्ने गराउने प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु पर्छ र सो शब्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षक तथा यस ऐन अन्तर्गत बनेको नियममा शिक्षक भनी तोकिएको व्यक्तिलाई समेत जनाउनेछ ।
(झ) “सेवा आयोग” भन्नाले दफा १९ बमोजिमको सेवा आयोग सम्झनु पर्छ ।
(ञ) “विद्यापरिषद्” भन्नाले दफा २९ बमोजिमको विद्यापरिषद् सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।