दफा
परिषद्को गठन

(१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहनेछन्ः–

(क) नर्सिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी नर्सिङ्ग व्यवसायमा कम्तीमा पन्ध्र वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्ये नेपाल सरकारबाट मनोनीत व्यक्ति –अध्यक्ष

(ख) नर्सिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी नर्सिङ्ग व्यवसायमा कम्तीमा बाह्र वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्ये नेपाल सरकारबाट मनोनीत व्यक्ति –उपाध्यक्ष

(ग) नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुखहरुमध्ये नेपाल सरकारबाट मनोनीत दुईजना –सदस्य

(घ) अध्यक्ष, नेपाल नर्सिङ्ग संघ –सदस्य

(ङ) स्वास्थ्य सेवा विभागका महानिर्देशकले तोकेको अधिकृत स्तरको नर्स –सदस्य

(च) त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको डीनले तोकेको अधिकृत स्तरको नर्स –सदस्य

(छ) नेपाल नर्सिङ्ग संघका साधारण सदस्यहरुमध्येबाट निर्वाचित तीनजना –सदस्य

(ज) नर्सिङ्ग व्यवसायमा ख्यातिप्राप्त नर्सहरुमध्येबाट नेपाल  सरकारबाट मनोनीत एकजना –सदस्य

(झ) नर्सिङ्ग क्षेत्रमा दश वर्ष सेवा गरिसकेका दर्तावाला नर्सिङ्ग व्यवसायी भई प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, क्षेत्रीय अस्पताल वा अञ्चल अस्पतालमा कार्यरत नर्सिङ्ग प्रमुखहरुमध्येबाट परिषद्को सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य

(ञ) मेट्रोनहरुमध्ये नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य

(ट) राष्ट्रिय जीवनमा ख्यातिप्राप्त उपभोक्ताका तर्फबाट नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य

(ठ) प्रतिनिधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् –सदस्य

(२) उपदफा (१) को खण्ड (छ) बमोजिमका सदस्यहरु निर्वाचित भई नआएसम्म नेपाल नर्सिङ्ग संघका साधारण सदस्यहरु मध्येबाट नेपाल सरकारबाट मनोनीत दुई जना सदस्यहरु परिषद्को सदस्यको रुपमा रहनेछन्।

(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरुमा थपघट वा हेरफेर गर्न सक्नेछ ।

(४) परिषद्ले आवश्यक देखेमा नर्सिङ्ग क्षेत्रको कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रुपमा बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(५) उपदफा (१) को खण्ड (छ) बमोजिमको सदस्यको निर्वाचन प्रकृया तोकिए बमोजिम हुनेछ ।