नियम १४
परीक्षण गर्ने कुराहरु

(१) केन्द्रले आयोजनाको प्राविधिक परीक्षण गर्दा सोको लागत, समय, गुणस्तर, प्रभावकारिता र प्राप्त उपलब्धी समेतलाई विचार गरी देहायका कुराहरुको परीक्षण गर्नेछः–
(क) प्राविधिक परीक्षणको कार्यलाई आयोजनाको अभिन्न कार्यको रुपमा राखे वा नराखेको,
(ख) आयोजनाको डिजाइन उपयुक्त भए वा नभएको,
(ग) आयोजनाबाट अपेक्षित उपलब्धी हासिल हुन सक्ने वा नसक्ने,
(घ) आयोजनाको प्रभावकारिता र दिगोपना भए वा नभएको,
(ङ) आयोजनाको प्रारुप तयारी तथा सम्भाव्यता अध्ययन, सेवा, वस्तु वा निर्माण सामग्रीको खरीद तथा प्रयोग र आयोजनाको कार्यान्वयन गर्दा सार्वजनिक निर्माण निर्देशिका वा अन्य प्रचलित कानूनले तोकेको तरिका र गुणस्तर बमोजिम भए वा नभएको,
(च) आयोजनाको लागि गरिएको बजेट व्यवस्था र निकासा ठीक भए वा नभएको,
(छ) आयोजनाको लक्ष्य निर्धारण भए वा नभएको र लक्ष्य निर्धारण भएकोमा तदनुरुप काम भए वा नभएको,
(ज) निर्धारित समयमा नै आयोजनाको काम शुरु भए वा नभएको,
(झ) आयोजना अन्तर्गत सम्पन्न हुने वा भएका कार्यहरुले अपेक्षाकृत सेवा दिन सक्ने नसक्ने,
(ञ) आयोजना सम्पन्न गर्नको लागि समय तालिका भए वा नभएको र समय तालिका भए सो अनुरुप कार्य प्रगति भए वा नभएको,
(ट) आयोजना सम्पन्न गर्न र गुणस्तर कायम राख्ने सम्बन्धमा आयोजना सम्बन्धी करारमा आवश्यक व्यवस्था भए वा नभएको,
(ठ) निर्माण कार्य अनुमानित लागत अनुरुप सम्पन्न भए वा नभएको,
(ड) आयोजना उद्देश्य अनुरुप कार्यान्वयन भए वा नभएको,
(ढ) आयोजना सम्पन्न भएपछि सोको सञ्चालन तथा मर्मत सम्भारको लागि आर्थिक तथा भौतिक व्यवस्था भए वा नभएको ।
(२) केन्द्रले उपनियम (१) बमोजिम कुनै आयोजनाको प्राविधिक परीक्षण गर्दा देखिएका कमी कमजोरीलाई तत्काल सुधार गर्न र भविष्यमा सञ्चालन हुने अन्य आयोजनामा त्यस प्रकारको कमी कमजोरी हुन नदिनको लागि आवश्यक व्यवस्था गर्नको लागि सरकारी कार्यालय वा सार्वजनिक संस्थाको माथिल्लो निकायमा लेखी पठाउनेछ ।