दफा ३१
पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्ने
: (१) पुनर्संरचना अवधि कायम रहेको
अवधिभर पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम कम्पनी सञ्चालन गर्दा निजले देहायका अधिकार प्रयोग गर्न सक्नेछः-
(क) कम्पनीको व्यवसाय, सम्पत्ति तथा कारोबारको व्यवस्थापन र नियन्त्रण,
(ख) कम्पनीको कुनै व्यवसाय वा सम्पत्तिको अन्त्य वा बेचबिखन,
(ग) कम्पनी वा कम्पनीका पदाधिकारीले गर्न सक्ने कुनै काम वा प्रयोग गर्न पाउने अधिकारको प्रयोग ।
(३) उपदफा (२) बमोजिमको अधिकार प्रयोग गर्दा पुनर्संरचना व्यवस्थापकलाई कम्पनीको सम्पूर्ण खाता, बही, श्रेस्ता, अभिलेख र कागजात हेर्न पाउने अधिकार हुनेछ ।
(४) पुनर्संरचना व्यवस्थापकले यस दफाबमोजिमको काम गर्दा वा अधिकार प्रयोग गर्दा कम्पनीको प्रतिनिधि (एजेण्ट) को हैसियतमा काम गर्नेछ ।
(५) पुनर्संरचना व्यवस्थापकले मागेमा कम्पनीका सञ्चालक तथा अन्य पदाधिकारीले कम्पनीको व्यवस्थापन तथा नियन्त्रणको लागि आवश्यक पर्ने जुनसुकै प्रकारको सहयोग उपलब्ध गराउनु पर्नेछ ।
(६) कम्पनीका सञ्चालक तथा पदाधिकारीले पुनर्संरचना व्यवस्थापकको लिखित निर्देशनबिना कम्पनीको सञ्चालक वा पदाधिकारीको हैसियतले कम्पनीको कुनै पनि अधिकार प्रयोग गर्न वा काम गर्न पाउने छैन ।
(७) कम्पनीका सञ्चालकले पुनर्संरचना व्यवस्थापकले मागेबमोजिम कम्पनी तथा कम्पनीको व्यवसाय, सम्पत्ति तथा कारोबारसम्बन्धी जानकारी निजलाई दिनु पर्नेछ ।