दफा ४२
पूँजीकोष
(१) बैंक वा वित्तीय संस्थाले आफ्नो कुल सम्पत्ति वा कुल जोखिमभारित सम्पत्तिको आधारमा राष्ट्र बैंकले तोकिदिएको अनुपातमा पूँजीकोष कायम गर्नु पर्नेछ । राष्ट्र बैंकले त्यस्तो अनुपात तोक्दा अतिरिक्त पूँजीकोष अनुपात समेत तोक्न सक्नेछ ।
(२) कुनै बैंक वा वित्तीय संस्थाले उपदफा (१) बमोजिमको पूँजीकोष कायम गर्न नसकेमा त्यस्तो बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले एक महिनाभित्र सोको जानकारी राष्ट्र बैंकलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको जानकारीमा अन्य कुराका अतिरिक्त पूँजीकोष कायम रहन नसकेको कारण तथा पूँजीकोषलाई वृद्धि गरी राष्ट्र बैंकले दिएको निर्देशन बमोजिमको अवस्थामा ल्याउन सञ्चालक समितिले तयार गरेको योजना वा कार्यक्रम समेत संलग्न गरेको हुनु पर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिम सञ्चालक समितिले पेश गरेको जानकारी तथा योजना वा कार्यक्रम मनासिब देखेमा सोही बमोजिम र त्यसमा कुनै संशोधन वा हेरफेर गर्नु परेमा सोको कारण खुलाई प्रस्तावित योजना वा कार्यक्रम संशोधन वा हेरफेर गरी कार्यान्वयन गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थालाई राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।