दफा ३७
पेट्रोलियम खर्च
: (१) ठेकेदारले यस सम्झौताबमोजिम पेट्रोलियम कार्य गर्दा गरेको देहायबमोजिमको खर्च पेट्रोलियम खर्च मानिनेछ :
(क) पूँजीगत अन्वेषण खर्च : यस सम्झौता अन्तर्गत पेट्रोलियम फेला परेको सूचना दिनुभन्दा अगावै पेट्रोलियम कार्यमा गरेको सबै खर्चहरू र फेला परेको पेट्रोलियम व्यापारिक स्तरको नभएको अवस्थामा करार क्षेत्रको कुनै भागमा पेट्रोलियम फेला परेको सूचना दिएपछि गरेका सबै खर्चहरू ।
(ख) चालू सञ्चालन खर्चहरू  व्यापारिक उत्पादन दिन पछि गरेका देहायका खर्चहरू लागत सबै गैह्र पूँजीगत खर्चहरू :
(१) पेट्रोलियमको सर्भेक्षण, विकास, उत्पादन, शुद्धीकरण, ओसार पसार सञ्चय, हृयाण्डलिङ एवं डेलिभरी तथा मर्मत सम्भार र त्यस्तै किसिमको कृयाकलापहरू लगायत दैनिक पेट्रोलियम कार्यमा प्रत्यक्ष रूपले प्रयोग गरेको श्रम, मालसामान र सेवाहरूको लागि गरिएका खर्चहरू,
(२) पेट्रोलियम कार्यमा प्रत्यक्ष रूपले नेपालभित्र र बाहिर गरिएका साधारण र कार्यालय प्रशासन, सेवा र शीर्षस्थ सञ्चालन,
खर्चहरू लगायत प्राविधिक र तत्सम्बन्धी सेवाहरू, सामग्रीहरू, परिवहन, भाडा भरौट र व्यावसायिक कर्मचारीसँग सम्बन्धित खर्चहरू र त्यस्तै किसिमको अन्य खर्चहरू,
(३) बीमा खर्च, शुल्क तथा पेट्रोलियम कार्यसँग सम्बन्धित सबै नोक्सानी, दावी, क्षतिपूर्ति र फैसलाको छिनाफानमा भएका सबै खर्चहरू,
(४) जिन्सी मालसामान अद्यावधिक गर्दा भएको नोक्सानी,
(५) दफा ४८ अन्तर्गत शिक्षा र तालिमका लागि गरिएका खर्चहरू ।
(ग) पूँजीगत खर्चहरू ः सामान्यतयाः एक वर्षभन्दा बढी अवधिको व्यापारिक आयु वा मूल्य भएका वस्तुहरूमा गरिएका सबै खर्चहरू (पूँजीगत अन्वेषण खर्चहरू बाहेक) लगायत देहायका खर्चहरू ः-
(१) करार क्षेत्रमा गरिएका अन्वेषण एवं सम्भाव्यता कार्यसम्बन्धी सबै खर्चहरू तथा विकास इनार खन्न, परीक्षण गर्न र पूरा गर्न तथा पेट्रोलियमको उत्पादन, शुद्धीकरण, सञ्चय र ढुवानीको लागि स्थायी सुविधाहरूको निर्माण गर्न गरिएका सबै खर्चहरू ।
(२) साइस्मिक वा अन्य जानकारी र प्रतिवेदनहरूको लागि ठेकेदारले श्री ५ को सरकारलाई तिरेको शुल्क ।
(३) व्यापारिक उत्पादन दिन पछि यस सम्झौताबमोजिम पेट्रोलियम कार्यको सम्बन्धमा ठेकेदारले गरेको सबै अन्य पूँजीगत खर्चहरू ।
(२) विदेशी विनिमयबाट भएका फाइदाहरूबाहेक जिन्सी लगतबाट उपकरण तथा मालसामानहरू हटाइएबाट वा बिक्रीबाट, जानकारीको बिक्रीबाट, यस सम्झौता अन्तर्गतको अधिकारको बिक्रीबाट, बीमाबाट र अन्य यस्तै आयस्रोतबाट उठेका रकम पेट्रोलियम खर्चमा कटाइनेछ ।