नियम २२
प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमा
(१) निजी क्षेत्रमा बीउ बिजनको प्रयोगशाला स्थापना र सञ्चालन गर्न देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्नेछः–
(क) निजी क्षेत्रमा प्रयोगशाला स्थापना र सञ्चालन गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले अनुमतिको लागि अनुसूची–११ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिने,
(ख) खण्ड (क) बमोजिमको निवेदन साथ केन्द्रमा दुईहजार रुपैयाँ दस्तुर बुझाएको रसिद संलग्न राख्नु पर्ने,
(ग) खण्ड (क) बमोजिम निवेदन दिँदा अनुसूची–११ मा उल्लेखित मेशिनरी उपकरण, रसायन, जनशक्ति तथा भौतिक पूर्वाधारहरू पूरा गरेको हुनु पर्ने,
(२) उपनियम (१) बमोजिमको प्रक्रिया पूरा भएमा समितिले प्रयोगशाला सञ्चालनको लागि अनुसूची–१२ बमोजिमको अनुमतिपत्र दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र प्राप्त प्रयोगशालाले प्रयोगशाला सञ्चालनको क्रममा अनुमतिपत्रमा उल्लेखित शर्तहरू पालना नगरेको पाइएमा समितिले त्यस्तो प्रयोगशालाको अनुमतिपत्र रद्द गरी अनुसूची–१३ बमोजिमको सूचना दिनु पर्नेछ ।