नियम १२
प्रस्ताव पेश गर्ने
(१) नियम ११ को उपनियम (१) बमोजिम प्रस्ताव आह्वान भएकोमा
नियम १० बमोजिमको संक्षिप्त सूचीमा नाम समावेश भएका मनसायपत्र पेश गर्ने
प्रस्तावकले देहायको विवरण खुलाई सो सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा
उल्लेख भएको स्थानमा प्रस्ताव पेश गर्नु पर्नेछ ः–
(क) परियोजनामा लगानी गर्न चाहेको रकम, सहभागिता जनाउन
चाहेको क्षेत्र, लगानीको सीमा तथा लगानीका शर्तहरु,
(ख) लगानी गर्न सक्ने आर्थिक तथा प्राविधिक क्षमता तथा अनुभव,
(ग) परियोजनाको प्रस्तावित वित्तीय स्रोत व्यवस्थापन,
(घ) परियोजना कार्यान्वयन सम्बन्धी व्यावसायिक योजना,
(ङ) परियोजना कार्यान्वयनको कार्ययोजना तथा समय तालिका,
(च) नेपाल सरकारसँगको सहभागिताको शर्त,
(छ) परियोजना कार्यान्वयन भएपछि विशेष आर्थिक क्षेत्रमा उपलब्ध
गराइने सेवा सुविधाको व्यवस्था तथा परियोजना वा उद्योगबाट
लिने लिज वा बहाल रकमको बाँडफाँड,
(ज) सूचनामा माग गरिएका अन्य आवश्यक विषय ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव पेश गर्दा प्रस्तावकले प्राधिकरणको छाप र
सम्बन्धित अधिकारीको दस्तखत भएको प्रस्ताव सम्बन्धी कागजात खरिद गरी सो
कागजातमा उल्लेख भए बमोजिमका विवरण भरी प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै
खाममा सिलबन्दी गरी ती दुवै खामलाई अर्को खाममा राखी पुन सिलबन्दी गरी पेश
गर्नु पर्नेछ ।