दफा १४
प्रहरी समन्वय समिति
(१) नेपाल प्रहरी तथा प्रदेश प्रहरीबीच समन्वय कायम गर्नका लागि देहाय बमोजिमको प्रहरी समन्वय समिति रहनेछः-
(क) नेपाल सरकारको गृहमन्त्री - अध्यक्ष (ख) सबै प्रदेशका आन्तरिक मामिला सम्बन्धी विषय
हेर्ने मन्त्रीहरु - सदस्य (ग) सचिव, मन्त्रालय - सदस्य (घ) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी - सदस्य (ङ) सहसचिव (शान्ति सुरक्षा हेर्ने), मन्त्रालय -सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) उपदफा (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार प्रदेश मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख र अन्य पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ।
(४) उपदफा (१) बमोजिमको समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(५) उपदफा (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मुलुकभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी तथा प्रदेशको शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरीले निर्वाह गर्नु पर्ने भूमिका र सो सम्बन्धी आवश्यक रणनीतिको सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने,
(ख) राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयनका लागि समन्वय गर्ने,
(ग) नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयमा देखिएका नीतिगत समस्याको पहिचान र समीक्षा गरी निराकरणका उपायहरुको सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने,
(घ) अन्तर-प्रदेश प्रहरीबीचको कार्यक्षेत्र सम्बन्धी विवाद समाधान गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने।