नियम २६
प्राविधिक परामर्श समितिको काम, कर्तव्य र अधिकार
(१) प्राविधिक परामर्श समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्राविधिक परीक्षण गर्दा अपनाइने प्रक्रिया पुनरावलोकन गर्ने,
(ख) प्राविधिक परीक्षकबाट प्राप्त प्रतिवेदनको मूल्याङ्कन गर्ने,
(ग) प्राविधिक परीक्षणबाट देखिएका त्रुटि सुधार गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकाय वा विभागको प्रतिक्रिया लिई ती निकायबाट गरिएका काम कारबाहीको पुनरावलोकन गर्ने,
(घ) प्राविधिक परीक्षणलाई उपलब्धीमूलक बनाउन केन्द्रलाई आवश्यक सुझाव दिने,
(ङ) प्राविधिक परीक्षण सम्बन्धी नीति परिमार्जन गर्न केन्द्रलाई परामर्श दिने,
(च) आयोजनाको गुणस्तर कायम गर्ने सम्बन्धमा प्राविधिक परीक्षणबाट देखिएका समस्या समाधान गर्न सहयोग नगर्ने केन्द्रीय निकायका पदाधिकारी, आयोजनाका प्रमुख तथा अन्य कर्मचारीलाई सम्बन्धित निकाय वा सार्वजनिक संस्थाबाट कारबाही भए नभएको सम्बन्धमा अनुगमन गर्ने,
(छ) प्राविधिक परीक्षण गर्दा आई पर्ने समस्या निराकरण गर्ने सम्बन्धमा आवश्यक परामर्श दिने,
(ज) प्राविधिक परीक्षणको विषयमा केन्द्रले उपयुक्त सम्झेको अन्य विषयमा आवश्यक सल्लाह वा सुझाव दिने ।
(२) प्राविधिक परीक्षण परामर्श समितिले उपनियम (१) बमोजिमका कार्य सम्पादन गर्ने क्रममा कुनै पनि आयोजनाको अनुगमन गर्न सक्नेछ ।
(३) प्राविधिक परीक्षण परामर्श समितिले कुनै खास प्रकृतिका कार्य सम्पादन गर्न उपसमिति गठन गरी त्यस्तो उपसमितिको कार्यक्षेत्रगत शर्त तोक्न सक्नेछ ।