नियम १५
प्राविधिक परीक्षक सम्बन्धी व्यवस्था
(१) केन्द्रले आयोजनाको प्राविधिक परीक्षण गराउनको लागि देहाय बमोजिमका योग्यता भएका व्यक्तिहरु मध्येबाट एक सूची तयार गर्नेछः–
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी इन्जिनियरिङ्ग क्षेत्रमा कम्तीमा १० वर्ष सेवा वा व्यवसाय गरेको,
(ख) नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको,
(ग) प्रचलित कानून बमोजिम प्राविधिक परीक्षक हुन अयोग्य नठहरिएको ।
(२) केन्द्रले उपनियम (१) बमोजिमको सूचीमा नाम समावेश भएका व्यक्तिहरुलाई प्राविधिक परीक्षण सम्बन्धी तालीमको व्यवस्था गर्न सक्नेछ ।
(३) केन्द्रले आयोजनाको प्राविधिक परीक्षण गर्नको लागि कुनै प्राविधिक परीक्षकलाई खटाउन सक्नेछ। त्यसरी खटाउँदा उपनियम (१) बमोजिमको सूचीमा नाम समावेश भएका मध्ये उपनियम (२) बमोजिम तालीम लिएका व्यक्तिहरु मध्येबाट खटाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम खटिएको प्राविधिक परीक्षकको कार्यक्षेत्रगत शर्त निजसँग गरिएको करारनामामा उल्लेख भए बमोजिम हुनेछ ।
(५) केन्द्रले आवश्यक देखेमा प्राविधिक परीक्षकका साथ केन्द्रका कुनै कर्मचारी वा विषयगत दक्षता भएका अन्य व्यक्तिलाई समेत खटाउन सक्नेछ ।