दफा ५६
फैसलामा सामान्य त्रुटि सच्याउने
(१) नियम ५३ को उपनियम (३) बमोजिम फैसला वा आदेशमा दस्तखत गरेपछि कुनै थपघट वा संशोधन गरिने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाको पक्ष वा निजको कानून व्यवसायीले फैसला वा आदेशको नक्कल लिएपछि त्यस्तो फैसला वा आदेशमा लेखाई वा टाइपको सामान्य त्रुटि हुन गएको देखेमा त्यस्तो त्रुटि सच्याउन अदालतमा निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) का अतिरिक्त फैसला वा आदेशमा त्रुटि भएको कुरा जुनसुकै बेहोराले अदालतको जानकारीमा आएमा सम्बन्धित कर्मचारीले सो बेहोराको प्रतिवेदन रजिस्ट्रार समक्ष पेस गर्न सक्नेछ।
(४) उपनियम (२) बमोजिमको निवेदन प्राप्त भएमा वा उपनियम (३) बमोजिमको प्रतिवेदन पेस भएमा रजिस्ट्रारले सम्बन्धित सदस्यहरु भएको इजलाससमक्ष पेस गर्नेछ।
तर पहिले फैसला वा आदेश गर्ने कुनै वा सबै सदस्यको सरुवा भएको वा अन्य जुनसुकै कारणले इजलास गठन हुन नसक्ने अवस्था भएमा अध्यक्षले तोकेको इजलासमा पेस हुनेछ।
(५) उपनियम (४) बमोजिम प्राप्त निवेदन वा प्रतिवेदनबाट फैसलामा सामान्य त्रुटि सुधार हुनुपर्ने देखिएमा इजलासले छुट्टै पर्चा खडा गरी ठहर गरिएको विषय वा इन्साफमा फरक नपर्ने गरी सच्याउने आदेश दिन सक्नेछ।
(६) उपनियम (५) बमोजिम खडा गरिएको पर्चा मूल फैसला वा आदेशको अभिन्न अङ्ग मानी मिसिल सामेल गरिनेछ । ।
(७) उपनियम (५) बमोजिम खडा गरिएको पर्चाको सम्बन्धित पक्षलाई जानकारी दिन आवश्यक भएमा अदालतले सोको सूचना दिन सक्नेछ।