नियम २२
बालकले पालन गर्नु पर्ने कुराहरु
: बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुले देहायका कुराहरुको पालन गर्नु पर्नेछ :
(क) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रलाई आफ्नो भविष्य निर्माण गर्ने थलोको रुपमा मान्नु पर्ने ।
(ख) आफुलाई प्रदान गरिएको नियमित शिक्षा तथा तालिम हासिल गर्ने ।
(ग) खेलकूद, मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम एवं अन्य अतिरिक्त क्रियाकलापमा संलग्न हुने ।
(घ) बालक तथा त्यहाँ कार्यरत सबै कर्मचारीहरुलाई आफ्नो पारिवारिक सदस्य सम्झने, सबैसंग मित्रभावको व्यवहार गर्ने र एक अर्कालाई सहयोग गर्ने ।
(ङ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा हल्ला, हुल हुज्जत आदि गर्ने वा अनुशासनहीन हुने कुनै किसिमको अवाञ्छित कार्य नगर्ने र त्यस्तो कार्य गर्न अरुलाई पनि दुरुत्साहित नगर्ने ।
(च) आफुलाई दैनिक प्रदान गरिने दुध, चिया, खाजा, भोजन आदि बाहेक अन्य कुनै चीज बाहिरबाट ल्याइ नखाने ।
(छ) धुम्रपान, लागू पदार्थ र मादक पदार्थको सेवन नगर्ने ।
(ज) बाल कल्याण गृह प्रमुख वा प्रशासकको अनुमति नलिई आफु रहेको ठाउँबाट बाहिर नजाने ।
(झ) सादा जीवन उच्च विचारको आदर्श पालन गर्ने र स्वाबलम्बनको लागि बाल कल्याण गृह प्रमुख वा प्रशासकले दिएको आदेश तथा निर्देशन पालन गर्ने ।