दफा १६
बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक तथा बीउ बिजन विश्लेषक सम्बन्धी व्यवस्था
१६.१ नेपाल सरकार बा प्रदेश सरकारले देहायको योग्यता पुगेका नेपाली नागरिकलाई बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषक: नियुक्त गर्न वा तोक्न सक्नेछः
(क) सान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा कृषिमा स्नातक तह उत्तीर्ण गरेको वा कृषिमा प्रमाणपत्र तह उत्तीर्ण गरी बीउ बिजन उत्पादनमा कम्तीमा दश वर्षको अनुभव भएको,
(ख) समितिबाट लिइने परीक्षा उत्तीर्ण भएको,
(ग) खण्ड (क): बमोजिम योग्यता पुगेको निजामती कर्मचारी (भए निज सेवारत कार्यालयको स्वीकृति प्राप्त भएको |

१६.२ उपदफा १६.१ बमोजिम बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक तथा बीउ बिजन विश्लेषक नियुक्त नभएसम्मको लागि नेपाल सरकार वा प्रदेश सरकारले सो सम्बन्धमा योग्यता पुगेका “आफू मातहतका वा स्थानीय तहका अधिकृत स्तरका कर्मचारीलाई” लाई बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक वा बीउ बिजन विश्लेषकको रूपमा काम गर्न तोक्न सक्नेछ ।

१६.३ उपदफा १६.१ र १६.२ मा उल्लिखित अवस्थामा बाहेक कसैले पनि यस ऐन बमोजिम अनुमतिपत्र नलिई बाली निरीक्षण गर्न, बीउ बिजनको नमूना सङ्कलन गर्न तथा बीउ बिजन विश्लेषण गर्न हँुदैन ।

१६.४ उपदफा १६.३ बमोजिमको अनुमतिपत्र लिन चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले समितिबाट लिइने परीक्षा उत्तीर्ण गर्नु पर्नेछ ।

१६.५ उपदफा १६.४ बमोजिमको परीक्षा उत्तीर्ण भएको व्यक्तिले बाली निरीक्षक, बीउ बिजन नमुना सङ्कलक वा बीउ बिजन विश्लेषकको रूपमा व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्न समिति समक्ष तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।

१६.६ उपदफा १६.५ बमोजिम निवेदन पर्न आएमा तोकिए बमोजिमको दस्तुर लिई तोकिएको शर्त र ढाँचामा समितिले अनुमतिपत्र दिनेछ । यसरी दिइएको अनुमतिपत्र दुई वर्षसम्म बहाल रहनेछ ।

१६.७ उपदफा १६.६ बमोजिम दिइएको अनुमतिपत्र तोकिए बमोजिम नवीकरण गराउनु पर्नेछ ।

१६.८ उपदफा १६.७ बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

१६.९ उपदफा १६.४ बमोजिमको परीक्षा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।