नियम
बैठकको सञ्चालन र स्थगन
(१) राष्ट्रिय सभाको बैठक सो सभाको कार्यबोझलाई ध्यानमा राखी यस नियमावलीको अधीनमा रही अध्यक्षले तोकेका दिनमा बस्नेछ । तर सभाको बैठक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधी र अर्का बैठक वस्ने अवधी बीचको फरक सात दिन भन्दा बढी हुने गरी तोकिने छैन । (२) राष्ट्रिय सभाको बैठक अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया दिनको एघार बजे प्रारम्भ हुनेछ । तर बैठक आव्हान गरेको समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा अध्यक्षले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नु पर्नेछ । (३) कुनै कारणवश बैठक बस्न तोकिएको दिन, समय वा कार्यक्रममा परिवर्तन भएमा त्यसको कारण सहितको सूचना राष्ट्रिय सभाको सूचनापाटीमा टाँसिनेछ र सो सम्बन्धी जानकारी सदस्यलाई विद्युतीय सञ्चारको माध्यमबाट समेत दिइनेछ । त्यसरी दिइएको सूचना सबै सदस्यले पाएको मानिनेछ । (४) अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ । (५) बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रुपमा हुनु पर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनु पर्नेछ । (६) बैठक सञ्चालनमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलका पदाधिकारीले सहयोग गर्ने छन् ।