दफा १०९
बैकिङ्ग गोपनीयता कायम राख्नु पर्ने
(१) बैंक वा वित्तीय संस्था र ग्राहकबीचको सम्बन्ध तथा बैंक वा वित्तीय संस्थाको हिसाब किताब, लेखा, खाता, बही, लेजर, श्रेस्ता र लेखाको विवरण सम्बन्धित व्यक्ति बाहेक अन्य कसैलाई जानकारी दिइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंक वा वित्तीय संस्थामा रहेको कुनै व्यक्तिको विवरण वा जानकारी देहाय बमोजिम कसैलाई दिएमा गोपनीयता भङ्ग गरेको मानिने छैनः–
(क) यो ऐन वा राष्ट्र बैंक ऐन वा सो अन्तर्गत बनेको नियम, विनियम वा दिइएको आदेश वा निर्देशन बमोजिम राष्ट्र बैंकलाई विवरण वा जानकारी दिएकोमा वा बैंक वा वित्तीय संस्थाहरुबीच कर्जा सूचना आदान–प्रदान गर्ने सिलसिलामा विवरण वा जानकारी दिएमा,
(ख) मुद्दा वा अन्य कानूनी कारबाहीको सिलसिलामा कुनै विवरण वा जानकारी अदालतलाई उपलब्ध गराएमा,
(ग) प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने, अभियोजन गर्ने वा जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा जाँचबुझ समिति वा अन्य प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीलाई सम्बन्धित पक्षको सूचना दिएमा वा नियमनकारी निकायलाई त्यस्तो सूचना दिएमा,
(घ) लेखापरीक्षणको सिलसिलमा लेखापरीक्षकलाई कुनै विवरण वा जानकारी दिएमा,
(ङ) प्रचलित पारस्परिक कानूनी सहायता सम्बन्धी कानून बमोजिम विदेशी राज्यलाई कुनै विवरण वा जानकारी उपलब्ध गराएमा,
(च) कुनै खास प्रकृतिको अपराध अनुसन्धानको सिलसिलामा कारण समेत खुलाई कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाममा बैंक वा वित्तीय संस्थामा रहेको खाताको कुनै विवरण वा बैंक वा वित्तीय संस्थाको खाताको विवरण माग गरी नेपाल सरकार, अर्थ मन्त्रालयबाट अनुरोध भई आएकोमा राष्ट्र बैंकले सो बमोजिम निर्देशन दिएकोमा ।
(३) उपदफा (२) बमोजिम प्राप्त हुन आएको जानकारी वा विवरण कसैले पनि अनधिकृत व्यक्तिलाई दिन वा दिलाउनु हुदैन ।
(४) उपदफा (२) मा उल्लिखित अवस्थामा बाहेक बैंक वा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक, सल्लाहकार तथा सम्बन्धित कुनै पनि व्यक्तिले बैंक वा वित्तीय संस्था र त्यसका ग्राहकबीचको सम्बन्धमा खलल पर्ने गरी बैंक वा वित्तीय संस्थाको हिसाब किताब, खाता, बही, श्रेस्ता, लेखा तथा अन्य कुनै पनि किसिमको गोपनियता कायम गर्नु पर्ने विषयको गोपनियता भङ्ग गर्नु, गराउनु हुँदैन ।