३. बोर्डको गठन
(१) सार्वजनिक संस्थानहरूको नीति निर्धारण, पुनर्संरचना, अनुगमन तथा मूल्याङ्कन गर्न एक सार्वजनिक संस्थान निर्देशन बोर्डको गठन हुनेछ ।
(२) बोर्डमा देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन्ः–
(क) लोकसेवा आयोगको सदस्य पदमा नियुक्त हुन योग्यता पुगेको व्यक्तिहरू मध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति –अध्यक्ष
(ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव (सम्बन्धित क्षेत्र हेर्ने), –सदस्य
(ग) अर्थ मन्त्रालयको सचिव, –सदस्य
(घ) अर्थशास्त्र वा व्यवस्थापन वा कानून वा विज्ञान वा कृषि वा इन्जिनियरिङ जस्ता प्रविधिक विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको तीन जना –सदस्य
(ङ) चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको –सदस्य
(३) नेपाल सरकारले अध्यक्ष तथा सदस्यको पदमा नियुक्त गर्दा सिफारिस समितिबाट सिफारिस भई आएका व्यक्तिहरूमध्येबाट गर्नेछ ।
(४) अध्यक्ष तथा उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र एकपटकको लागि निजहरूको पुनर्नियुक्ति हुन सक्नेछ ।
(५) पदावधि बाँकी छँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त हुन गएमा त्यसरी रिक्त हुन गएको पदमा बाँकी अवधिको लागि यस आदेशको अधीनमा रही जुन प्रक्रियाबाट नियुक्त भएको हो सोही प्रक्रियाबाट पूर्ति गरिनेछ ।
(६) बोर्डको संगठनात्मक संरचना अनुसूची –२ बमोजिम हुनेछ ।