नियम ३६
मतगणना प्रतिनिधि
(१) मतगणना सम्बन्धी कामको लागि उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचन अधिकृतबाट तोकिएको सङ्ख्यामा अनुसूची–२६ बमोजिम मतगणना प्रतिनिधि नियुक्त गरी सोको जानकारी निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) सम्बन्धित स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र साधारण लेखपढ गर्न जान्ने व्यक्तिलाई मतगणना प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले अगावै खारेज गरेमा बाहेक मतगणना प्रतिनिधि निर्वाचन परिणाम घोषणा नभएसम्म कायम रहनेछ ।
(४) उपनियम (१) बमोजिम नियुक्त मतगणना प्रतिनिधिलाई निर्वाचन अधिकृतले अनुसूची–२५ बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतगणना कार्य सम्पन्न गर्न सहयोग गर्नु र मतगणना गर्दा तयार गर्नु पर्ने मुचुल्कामा सहिछाप गर्नु मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।