नियम २०
मतदान गर्ने तरीका

(१) मतदाताले मतपत्र लिएपछि मत सङ्केत गर्ने गोप्य स्थानमा गई आफूले रोजेको उम्मेदवारको चिन्ह भएको मतपत्रको कोठामा आयोगले उपलब्ध गराएको स्वस्तिक ( ) चिन्ह भएको छाप लगाई सो मतपत्रलाई पट्याई मतपेटिका भित्र खसाल्नु पर्नेछ ।
(२) मत सङ्केतको लागि छाप लगाउने गोप्य स्थानमा एक पटकमा एकजना मतदातालाई मात्र प्रवेश गर्न दिइनेछ ।
(३) कुनै मतदाता मत सङ्केत गर्ने गोप्य स्थानमा मतपत्रमा मत सङ्केत गर्ने छाप लगाउने र मतपत्र पट्याउन लाग्ने समयभन्दा बढी समयसम्म बसेको छ भन्ने मतदान अधिकृतलाई लागेमा निजले सो गोप्य स्थानको निरीक्षण गर्न र त्यहाँ रहेको मतदातालाई बाहिर पठाउन सक्नेछ ।
(४) कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कसैले मतदान नगरी मतपत्र फिर्ता गरेमा मतदान अधिकृतले सोको अभिलेख राखी त्यस्तो मतपत्र छुट्टै खामबन्दी गरी राख्नु पर्नेछ ।