नियम ३५
मतदान प्रतिनिधि

(१) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान केन्द्रमा आफूले गर्नुपर्ने काम गर्न अनुसूची–२४ बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ । त्यसरी मतदान प्रतिनिधि नियुक्त गर्दा एकै दलको तर्फबाट उम्मेदवार भएका सबै उम्मेदवारले समन्वय गरी एउटा मतदान केन्द्रमा एकजना मात्र मतदान प्रतिनिधि नियुक्त गर्नु पर्नेछ । स्वतन्त्र उम्मेदवारको हकमा सम्बन्धित उम्मेदवार वा निजका निर्वाचन प्रतिनिधिले आपसमा समन्वय गरी एउटा मतदान केन्द्रमा सम्भव भएसम्म एकजना मात्र मतदान प्रतिनिधि नियुक्त गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) सम्बन्धित स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र साधारण लेखपढ गर्न जान्ने व्यक्तिलाई मतदान प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले उपनियम (१) बमोजिम मतदान प्रतिनिधि नियुक्त गरेको जानकारी सम्बन्धित मतदान केन्द्रको मतदान अधिकृतलाई दिनु पर्नेछ ।
(४) मतदान प्रतिनिधिलाई मतदान अधिकृतले अनुसूची–२५ बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतदान कार्य सम्पन्न गर्न सहयोग गर्नु तथा मतदान सम्बन्धी कार्यमा तयार गर्नु पर्ने मुचुल्कामा सहिछाप गर्नु मतदान प्रतिनिधिको कर्तव्य हुनेछ ।