नियम १९
मतपत्र दिने कार्यविधि
(१) मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले मतदाता परिचयपत्र हेरी निजको नाम मतदाता नामावलीमा समावेश भएको छ छैन र मतदाता नामावलीमा भएको व्यहोरासँग भिड्छ भिड्दैन सो जाँच गर्नेछ । त्यसरी जाँच गर्दा मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजलाई मतदान गर्न मतपत्र दिनेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै मतदाताको व्यहोरामा लेखाई वा छपाईको सानोतिनो भूलचूक देखिए तापनि मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा विश्वस्त भएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई मतदान गर्न मतपत्र दिनेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतपत्र दिनुअघि मतदान अधिकृतले त्यस्तो मतपत्रमा दस्तखत गर्नु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतपत्र दिएपछि मतदाता नामावलीमा रहेको निजको नाममा निजले मतदान गरेको व्यहोरा जनिने गरी सङ्केत गर्नु पर्नेछ ।