नियम ३१
मतपत्र दिने
(१) मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्तो मतदाता प्रदेश सभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र हेरी निजको नाम मतदाता नामावलीमा छ, छैन र मतदाता नामावलीमा भएको व्यहोरासँग भिड्छ, भिड्दैन यकिन गर्नु पर्नेछ । यसरी जाँच गर्दा मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजलाई मतदान गर्न मतपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै मतदाताको व्यहोरामा लेखाई वा छपाईको सानोतिनो भूलचूक देखिए तापनि मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा त्यस्तो मतदातालाई मतदान गर्न मतपत्र दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतदान गर्न मतपत्र दिनु अघि मतदान अधिकृतले त्यस्तो मतपत्रमा दस्तखत गर्नु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतपत्र दिएपछि मतदाता नामावलीमा निजले मतदान गरेको व्यहोरा जनिने सङ्केत गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मतदाता नामावलीमा सङ्केत जनाई सकेपछि मतपत्रको अधकट्टीमा मतदाताको सहीछाप गराई मतदातालाई मतपत्र दिनु पर्नेछ ।
(६) यस नियम बमोजिम मतदातालाई मतपत्र दिनु अघि आयोगले तोके बमोजिम निजको औंलामा नमिटिने मसी लगाई दिनु पर्नेछ ।