नियम २७
मतपत्र
(१) निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएका उम्मेदवारको नाम, निर्वाचन चिन्ह र मतसङ्केत गर्ने कोठा रहेको आयोगले निर्धारण गरे बमोजिमको मतपत्र रहनेछ ।
(२) यस नियम बमोजिम मतपत्र तयार गर्दा देहायको क्रम बमोजिम उम्मेदवारको नाम र निर्वाचन चिन्ह समावेश गर्नु पर्नेछ ः-
(क) निर्वाचन हुनुभन्दा तत्काल अघि भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिने दलले सो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा त्यस्तो दलको उम्मेदवारको नाम र निर्वाचन चिन्ह,
(ख) खण्ड (क) बमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग नलिने दल निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको क्रम बमोजिम सो दलको उम्मेदवारको नाम र निर्वाचन चिन्ह,
(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो उम्मेदवारको नाम र निर्वाचन चिन्ह ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ भए पछि पहिलो पटक हुने निर्वाचनको हकमा तत्काल अघि भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मत परिणाम घोषणा नभएको अवस्थामा देहायको क्रम बमोजिम उम्मेदवारको नाम र निर्वाचन चिन्ह समावेश गर्नु पर्नेछ ः-
(क) संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलले संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा त्यस्तो दलको उम्मेदवारको नाम र निर्वाचन चिन्ह,
(ख) खण्ड (क) बमोजिम व्यवस्थापिका–संसदमा प्रतिनिधित्व नगर्ने दल निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको क्रम बमोजिम सो दलको उम्मेदवारको नाम र निर्वाचन चिन्ह,
(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो उम्मेदवारको नाम र निर्वाचन चिन्ह ।
(४) उपनियम (२) को खण्ड (क) र (ख) तथा उपनियम (३) को खण्ड (क) र (ख) बमोजिमका दलको तर्पmबाट एकभन्दा बढी उम्मेदवार रहेकोमा सो दलका उम्मेदवारको नाम वर्णानुक्रमको आधारमा समावेश गर्नु पर्नेछ ।
(५) यस नियम बमोजिमको मतपत्र तयार गर्दा प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्रमा रहने विवरण र निर्वाचन चिन्ह तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखले मतदान गर्ने मतपत्रमा रहने विवरण र निर्वाचन चिन्ह अलग–अलग रङ्गको मसीले छापिनेछ ।
(६) यस नियम बमोजिम मतपत्र छाप्दा अध्यादेशको दफा ३ बमोजिमका अलग–अलग समूहको लागि अलग–अलग मतपत्र छापिनेछ ।
(७) प्रत्येक मतपत्रको अधकट्टीमा आयोगले निर्धारण गरे बमोजिम सिलसिलेवार रुपमा क्रमसङ्ख्या छापिनेछ ।
(८) मतपत्रको ढाँचा, प्रकार, रङ र किसिम आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।