दफा २५
मान्यता रद्द गर्न सक्ने
(१) दफा २४ बमोजिम प्राप्त कागजात तथा विवरण समेतका आधारमा परिषद्बाट मान्यता प्रदान गरिएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिहरुको लागि सम्बन्धित शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्तहरु, अध्ययन अध्यापन विधि, परीक्षा संचालन विधि उपयुक्त एवं पर्याप्त छैन भन्ने लागेमा परिषद्ले आफ्नो राय सुझाव सहितको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्को प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक देखेमा सम्बन्धित शिक्षण संस्थासँग थप विवरण वा स्पष्टीकरण माग गर्न सक्नेछ । त्यसरी परिषद्बाट माग भए बमोजिमको थप विवरण वा स्पष्टीकरण तोकिए बमोजिमको समयमा उपलब्ध गराउनु सम्बन्धित शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम परिषद्बाट प्राप्त प्रतिवेदन वा उपदफा (२) बमोजिम प्राप्त विवरण वा स्पष्टीकरण अध्ययन गर्दा थप जाँचबुझ गराउन आवश्यक देखेमा मन्त्रालयले कुनै विशेषज्ञ सम्मिलित समिति वा कार्यदल मार्फत थप जाँचबुझ गराउन सक्नेछ ।
(४) उपदफा (१) बमोजिमको प्रतिवेदन तथा उपदफा (२) बमोजिम प्राप्त स्पष्टीकरण र जाँचबुझ प्रतिवेदन समेतको आधारमा मन्त्रालयले त्यस्तो शिक्षण संस्थाबाट कुनै खास मितिपछि प्रदान गरिएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिलाई दफा २२ बमोजिम प्रदान गरिएको मान्यतालाई रद्द गर्न सक्नेछ । त्यसरी मान्यता रद्द गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।