नियम २१
मापदण्डको पालना गर्नु पर्ने
(१) स्वीकृतिपत्र प्राप्त व्यक्ति तथा लगानीकर्ताले
परियोजनासँग सम्बन्धित निर्माण कार्य वा विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन
तथा व्यवस्थापन ऐन, यस नियमावली तथा प्राधिकरणद्वारा निर्धारित मापदण्डको
अधीनमा रही गर्नु पर्नेछ ।
(२) स्वीकृतिपत्र प्राप्त व्यक्ति तथा लगानीकर्ताले विशेष आर्थिक क्षेत्रमा रहेका
भवन तथा जग्गा उद्योगलाई बहाल वा लिजमा दिँदा उद्योगसँग सम्झौता गर्नु पर्नेछ ।
तर स्वीकृतिपत्र प्राप्त व्यक्ति आफैले उद्योग स्थापना गरी सञ्चालन गर्ने
उद्देश्यले स्थापना गरेको विशेष आर्थिक क्षेत्रको हकमा यो उपनियमको व्यवस्था लागू
हुने छैन ।
(३) उपनियम (२) बमोजिम उद्योगसँग गरिने सम्झौताको ढाँचा प्राधिकरणबाट
स्वीकृत गराउनु पर्नेछ ।
(४) स्वीकृतिपत्र प्राप्त व्यक्ति तथा लगानीकर्ताले विशेष आर्थिक क्षेत्रमा स्थापित
उद्योगलाई उपलब्ध गराउने जग्गा, भवन, सेवा वा सुविधा बापत लिने लिज बहालको
रकम, शुल्क वा दस्तुर प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हुनु पर्नेछ ।
(५) स्वीकृतिपत्र प्राप्त व्यक्ति तथा लगानीकर्ताले विशेष आर्थिक क्षेत्रमा सुरक्षाको
पर्याप्त प्रबन्ध मिलाउनु पर्नेछ ।