दफा ४०
मिश्रित सामानहरु
(१) उत्पादनमा वा सोको समूहमा आफ्नो पहिचान गुमाउने गरी अन्य मालसामानमा भौतिकरुपमा एकीकृत गरिएको मालसामान मिश्रित सामान हुनेछ । (२) मिश्रित सामानउपर धितोको हक सृजना नहुन पनि सक्नेछ । तर त्यस्तो मालसामान मिश्रित सामान भई त्यसबाट सृजित उत्पादन वा समूहमा भने धितोको हक सृजना हुन सक्नेछ । (३) धितोको सम्पत्ति मिश्रित सामान भएमा सोको उत्पादन वा समूहमा धितोको हक आबद्ध हुनेछ । (४) धितोको सम्पत्ति मिश्रित सामान हुनुभन्दा अगावै सो धितोको सम्पत्तिमा रहेको धितोको हक परिपक्व भएको भए उत्पादन वा समूहसँग आबद्ध रहेको धितोको हक सूचना दर्ता नगरेमा पनि परिपक्व हुन सक्नेछ । उत्पादन वा सोको समूहउपरको धितोको हकको प्राथमिकता मिश्रित भएको धितोको सम्पत्तिउपर रहेको धितोको हक परिपक्व भएको समयदेखि गणना गरिनेछ । (५) मिश्रित सामानको उत्पादन वा सोको समूहउपर एकभन्दा बढी धितोको हक आबद्ध भएको अवस्थामा देहायबमोजिम प्राथमिकताको निर्धारण गरिनेछः– (क) धितोको सम्पत्ति मिश्रित सामान हुँदाका बखत परिपक्व भएको धितोको हकले सोबखत अपरिपक्व रहेको धितोको हकउपर प्राथमिकता पाउनेछ, (ख) उत्पादन वा सोको समूहमा आबद्ध भएको पहिलो धितोको हकले अपरिपक्व धितोको हकउपर प्राथमिकता पाउनेछ, र (ग) एकभन्दा बढी धितोको हक परिपक्व भएमा धितोको सम्पत्ति मिश्रित सामान हुँदाका बखत सो सम्पत्तिको मूल्यको अनुपातमा धितोको हक समान स्थितिमा रहनेछ ।