नियम १५
यात्रा अनुमतिपत्र

(१) देहायको अवस्थामा यात्रा अनुमतिपत्र जारी गर्न सकिनेछः–

(क) विदेशमा रहेको कुनै नेपाली राहदानी वाहकको राहदानी हराएको वा नासिएको कारणले नेपाल फर्कन असमर्थ भएको कारण र प्रमाण सहित राहदानी प्राप्त गर्नको लागि आवश्यक पर्ने प्रक्रिया पूरा गरी सम्बन्धित देशको वा नजिकको नियोगसमक्ष निवेदन दिएमा,

(ख) खण्ड (क) बमोजिम नियोग नभएको देशमा भए निजको परिवारको सदस्यले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिसको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पत्र सहित राहदानी प्राप्त गर्नका लागि अपनाउनु पर्ने सबै प्रकृया पूरा गरी कार्यालयसमक्ष निवेदन दिएमा,

(ग) नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जानको लागि गृह मन्त्रालयको सिफारिस वा नेपालमा विदेशी नियोग नभएका मुलुकका विदेशी नागरिकले राहदानी हराएको वा नासिएको कारणले आफ्नो देशमा फिर्ता हुन नसकेको कारण दर्शाई राहदानी हराएको वा नासिएको प्रहरी प्रतिवेदन तथा अन्य आवश्यक प्रमाण सहित निवेदन दिएमा,

(घ) विदेशी नागरिकद्वारा धर्मपुत्र वा धर्मपुत्री ग्रहण गरिएका नेपाली बालबालिकाको हकमा त्यस्तो नागरिकको मुलुकको नियोग नेपालमा नभएमा वा त्यस्तो नियोगले राहदानी वा यात्रा अनुमतिपत्र जारी नगर्ने भएमा त्यस्तो विदेशी नागरिकले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सिफारिस सहित  विभाग समक्ष निवेदन दिएमा ।

(२) यात्रा अनुमतिपत्रको बाहिरी पृष्ठको रङ्ग कालो हुनेछ ।

(३) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदन दिने व्यक्तिलाई यात्रा अनुमतिपत्र जारी गर्न उपयुक्त देखेमा कार्यालयले यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ ।

(४) उपनियम (१) बमोजिम जारी गरिने यात्रा अनुमतिपत्र वहाल रहने अवधि त्यस्तो अनुमतिपत्र जारी गर्ने अधिकारीले तोके बमोजिम हुनेछ ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै नेपाली नागरिक विदेशमा राहदानी हराई बेखर्चि वा बेसहारा भई अलपत्र परेमा निजको तत्काल उद्धार गरी पठाउन निशुल्क एकपनाको एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सकिनेछ ।

(६) नियोगले नेपाली बाबु आमाका विदेशमा जन्मेका नाबालक छोराछोरीलाई आफूसँगै नेपाल फर्कने प्रयोजनका लागि एकपटक एकपनाको एकतर्फी यात्रा अनुमतिपत्र दिन सक्नेछ ।

(७) उपनियम (६) बमोजिम यात्रा अनुमतिपत्र माग गर्दा नेपाली बाबुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली राहदानीको प्रतिलिपी र सम्बन्धित देशको सम्बन्धित निकायबाट जारी भएको नाबालकको जन्मदर्ता प्रमाणपत्र संलग्न गर्नु पर्नेछ ।

(८) उपनियम (५) र (६) बमोजिम जारी भएको यात्रा अनुमतिपत्रको अवधि बढीमा तीन महिनाको हुनेछ ।

(९) उपनियम (५) र (६) बमोजिम जारी गरिने यात्रा अनुमतिपत्रको ढाँचा अनुसूची–६ बमोजिमको हुनेछ ।