दफा ३
राजस्व न्यायाधिकरणको स्थापना र गठन
(१) राजस्व न्यायाधिकरण अध्यादेश, २०३० अन्तर्गत स्थापना भएका राजस्व न्यायाधिकरणहरू यसै ऐन अन्तर्गत स्थापना भएको मानिनेछ ।
(२) प्रत्येक न्यायाधिकरणको इलाका र सदरमुकाम नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएबमोजिम हुनेछ ।
(३) प्रत्येक न्यायाधिकरणमा नेपाल सरकारले नियुक्त गरेका देहायका सदस्यहरू रहने छन्ः–
(क) कानून सदस्य,
(ख) राजस्व सदस्य, र
(ग) लेखा सदस्य ।
(४) उपदफा (३) बमोजिम नियुक्त गर्दा दफा ४ बमोजिम योग्यता पुगेका कुनै पदाधिकारीलाई कुनै न्यायाधिकरणको वा एकै समयमा एकभन्दा बढी न्यायाधिकरणको सदस्य तोक्न सकिनेछ ।
(५) कानून सदस्य न्यायाधिकरणको अध्यक्ष हुनेछ र निजको अनुपस्थितिमा राजस्व सदस्यले अध्यक्षता गर्नेछ ।