दफा ११
राष्ट्रिय वनको सिमानाभित्र निजी जग्गा पार्न र प्राप्त गर्नमा प्रतिबन्ध
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै निजी घर वा जग्गा राष्ट्रिय वनको सिमानाभित्र पार्दा वा त्यस्तो घर वा जग्गा प्राप्त गर्दा देहायमा लेखिएको कुराहरुका अधीनमा रही गर्नु पर्नेछः–
(क) राष्ट्रिय वन बाहिर रीतपूर्वक दर्ता आवाद भैसकेको निजी जग्गा र त्यस्तो जग्गामा घर बनेको भए सो समेत राष्ट्रिय वन वा त्यसको सिमानाको संरक्षणका लागि प्राप्त गर्न अत्यावश्यक भएमा बाहेक प्राप्त गरिने छैन र सो बमोजिम प्राप्त गर्दा कुनै एकै व्यक्तिको जग्गा मध्ये तराईमा भए दुई बिगाहा र उपत्यकामा र पहाडमा भए चार रोपनी भन्दा बढी जग्गा नेपाल सरकारको पूर्व स्वीकृति बेगर प्राप्त गरिने छैन र तराईमा पाच बिगाहा र उपत्यका र पहाडमा दश रोपनी भन्दा बढी त्यस्तो जग्गा सो जग्गा धनीको मञ्जुरीले बाहेक कुनै अवस्थामा प्राप्त गर्न सकिने छैन ।
(ख) चारैतिर राष्ट्रिय वनले घेरिएको वा राष्ट्रिय वनभित्रको कुनै व्यक्तिको नाममा दर्ता भैराखेको घर जग्गा प्राप्त गरी राष्ट्रिय वनको सिमानाभित्र पारी छुट्याउन सकिनेछ ।