(१) नियम ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित निकायबाट लेखि आएमा देहायका व्यक्तिलाई कार्यालयले राहदानी जारी गर्न इन्कार गर्न सक्नेछः–
(क) राहदानी तथा अध्यागमन सम्बन्धी कसूरमा कानून बमोजिम मुद्दा चलिरहेको वा अदालतबाट कसूरदार ठहर भई सजाय भोगी रहेको,
(ख) बैंक तथा वित्तीय संस्थाको ऋृण तिर्न नसकी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(ग) भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेको वा अदालतबाट कसुरदार ठहर भई सजाय भोगी रहेको,
(घ) मानव बेचविखन वा अपहरण वा लागु औषधिको कारोवार सम्बन्धी कसूरमा मुद्दा चलिरहेको वा अदालतबाट कसूरदार ठहर भई सजाय
भोगी रहेको,
(ङ) अदालतबाट विदेश जान रोक लगाएको वा राहदानी जारी नगर्न आदेश भएको,
(च) कानून बमोजिम राहदानी रोक्का राख्ने वा जारी नगर्ने व्यवस्था भएको ।
(२) कार्यालयले उपनियम (१) बमोजिम राहदानी जारी गर्न इन्कार गरेमा सोको सूचना सम्बन्धित निवेदकलाई तीन दिन भित्र दिनु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड (क), (ग) र (घ) बमोजिमका कसूरमा अदालतबाट सफाइ पाएमा वा कानून बमोजिमको सजाय भुक्तान भई सकेपछी त्यस्ता नेपाली नागरिकलाई राहदानी जारी गर्न यस नियमले बाधा पुर्याएको मानिने छैन ।
(४) उपनियम (१) को खण्ड (ख), (ङ) र (च) बमोजिमको अवस्था विद्यमान छैन भनी सम्बन्धित निकायबाट लेखि आएमा त्यस्ता नेपाली नागरिकलाई राहदानी जारी गर्न बाधा पर्नेछैन ।