दफा ४६
लेखा
: (१) ठेकेदारले सबै पेट्रोलियम कार्यहरू प्रतिबिम्ब हुने गरी सम्पूर्ण वित्तीय लेखा र अभिलेखहरू अंग्रेजी भाषामा राख्नेछ । त्यस्तो लेखा र अभिलेखहरू डलरमा वा आपसी मञ्जुरी बमोजिम अन्य मुद्रामा ठेकेदारको कार्यालय काठमाडौं, नेपालमा राख्नेछ ।
(२) ठेकेदारले वार्षिक वासलात र नाफा नोक्सानीको विवरण यस सम्झौता तथा नेपालको सम्बन्धित कानून बमोजिम तयार गर्नेछ । ठेकेदारको आम्दानी, खर्च र खूद मुनाफा निर्धारण गर्ने लेखाविधि, नियम र चलन अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा सामान्यतः लागू हुने लेखाविधि, नियम र चलन अनुरूप नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(३) ठेकेदारको लेखाहरू महालेखा परीक्षकको विभागलाई मान्य हुने स्वतन्त्र लेखा परीक्षकबाट प्रमाणित गरेको हुनु पर्नेछ र लेखा परीक्षकको प्रतिवेदन सहित सम्बन्धित वर्ष समाप्त भएको नब्बे (९०) दिनभित्र विभागमा पेश गर्नेछ ।
(४) नेपाल सरकारलाई यस सम्झौता बमोजिमका शर्तहरू ठेकेदारले पालना गरे नगरेको जाँच्ने प्रयोजनको लागि ठेकेदारको यस सम्झौतसँग सम्बन्धित कुनै पनि वर्षको खाता र लेखा त्यस्तो खाता र लेखासँग सम्बन्धित वर्ष समाप्त भएको दुई वर्ष सम्म कुनै पनि समयमा निरीक्षण र लेखापरीक्षण गर्ने अधिकार हुनेछ । त्यस्तो निरीक्षण वा लेखापरीक्षण पूरा भएको साठी (६०) दिनभित्र कुनै आपत्ति जनक कुरा भए लिखित रूपमा जनाउनु पर्नेछ ।
(५) विभागले ठेकेदारको यस सम्झौतासँग सम्बन्धित खाता र लेखाहरू निरीक्षण र लेखा परीक्षण गर्न अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योग सम्बन्धी अनुभव भएको स्वतन्त्र लेखापालहरूको फर्मलाई नियुक्त गर्न सक्नेछ । ठेकेदारले त्यस्तो स्वतन्त्र लेखापालहरूको फर्मको शुल्क र खर्चको भुक्तानी गर्नेछ र त्यस्तो भुक्तानी पेट्रोलियम खर्च मानिनेछ ।