दफा ७६
वार्षिक साधारण सभा
: (१) प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरु गर्ने इजाजत पाएको एक
वर्षभित्र प्रथम वार्षिक साधारण सभा गर्नु पर्नेछ र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष
पुरा भएको छ महिनाभित्र वार्षिक साधारण सभा गर्नु पर्नेछ ।
(२) कुनै पब्लिक कम्पनीले उपदफा (१) को म्याद नाघेको तीन महिनाभित्र पनि वार्षिक
साधारण सभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीको वार्षिक साधारण सभा बोलाउन निर्देशन
दिन सक्नेछ ।
(३) उपदफा (२) को निर्देशन प्राप्त गरेको तीन महिनाभित्र पनि कम्पनीले वार्षिक
साधारण सभा नबोलाएमा सो कुरा खुलाई कुनै शेयरधनीले अदालतमा निवेदन दिन सक्नेछ ।
त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारण सभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश
जारी गर्न सक्नेछ ।
(४) दफा ७३ को उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३)
बमोजिम अदालतको आदेश बमोजिम बोलाइएको साधारण सभामा जतिसुकै शेयरधनी उपस्थित
भए पनि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) वार्षिक साधारण सभा गर्ने गरी नियमावलीमा व्यवस्था गरेका प्राइभेट कम्पनीको
हकमा समेत उपदफा (१), (२), (३) र (४) का व्यवस्थाहरु लागू हुने छन्।