दफा ४०
विदेशी बैंकको शाखा सम्बन्धी विशेष व्यवस्था
(१) राष्ट्र बैंकले कुनै अन्तर्राष्ट्रिय श्रेणीकृत विदेशी बैंकलाई नेपालमा शाखा मार्फत बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति दिएमा सो बमोजिम नेपालमा प्रचलित कम्पनी कानून अनुसार दर्ता भएको शाखा यस ऐन बमोजिम संस्थापना भएको बैंक वा वित्तीय संस्था सरह मानिनेछ र यो ऐन वा यस ऐन अन्तर्गत बनेकोे नियम, विनियम, आदेश वा निर्देशनले अन्यथा व्यवस्था गरेकोमा बाहेक अन्य सम्पूर्ण प्रावधानहरु त्यस्तो शाखाको हकमा समेत समान रुपले लागू हुने छन् ।
(२) विदेशी बैंकको शाखाको काम, कर्तव्य, अधिकार, जिम्मेवारी, दायित्व, जायजेथा, लेखा आदि काम कारबाहीको जिम्मेवारी लिने तथा त्यस्तो काम कारबाही सम्पादन गर्ने पदाधिकारी तथा कर्मचारीहरुको जिम्मेवारी सम्बन्धमा राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) विदेशी बैंकको नेपालस्थित शाखाले आफ्नो दायित्व पूरा गर्ने क्रममा आफ्नो सम्पत्ति प्रयोग गर्दा अन्य कुनै कानूनी व्यवस्थामा प्रतिकूल असर नहुने गरी नेपालको दायित्वलाई पहिलो प्राथमिकता दिई पूरा गर्नु पर्नेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी बैंकको शाखाले थोक बैंकिङ्ग कारोबार गर्न सक्नेछ ।
(५) विदेशी बैंकको शाखा कार्यालयको काम कारबाही राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।