दफा
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिनुपर्ने

(१) विदेशी विनिमय कारोबार गर्न
चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैङ्कबाट इजाजतपत्र लिनुपर्नेछ ।
(२) विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले
इजाजतपत्र लिनको लागि बैङ्कले तोकिदिएको विवरण सहित बैङ्क समक्ष दरखास्त दिनुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम दरखास्त पर्न आएमा निर्धारित मापदण्डको आधारमा
बैङ्कले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई
विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र दिन सक्नेछ । यसरी बैङ्कले इजाजतपत्र दिँदा
कारोबार गर्ने विदेशी विनिमयको किसिम, हद, कारोबार गर्न पाउने अवधि र अन्य आवश्यक
शर्तहरू समेत तोकिदिन सक्नेछ ।
(४) विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा इजाजतपत्र
प्राप्त व्यक्तिलार्ई बैङ्कले समयसमयमा आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ । यस्तो
आदेश वा निर्देशनको पालना गर्नु इजाजतपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।
(५) इजाजतपत्र प्राप्त गर्ने बैङ्कले तोकिदिएबमोजिम वार्षिक शुल्क र धरौटी बैङ्कमा
बुझाउनु पर्नेछ । यसरी तोकिएको वार्षिक शुल्क वा धरौटी नबुझाउने इजाजतपत्र प्राप्त
व्यक्तिको इजाजतपत्र बैङ्कले रद्द वा निलम्बन गर्न सक्नेछ ।
(६) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विदेशी विनिमय कारोबार गर्न पटके
इजाजतपत्र माग गर्न आएमा बैङ्कले यसै दफाको अधीनमा रही त्यस्तो व्यक्तिलार्ई पटके
इजाजतपत्र दिन सक्नेछ ।