नियम ४३
विभिन्न नागरिक उड्डयन विर्षयगत ग्राउण्ड कक्षा सञ्चालन संस्था सम्बन्धी व्यवस्था

(१) नागरिक उड्डयन सम्बन्धी विभिन्न विर्षयको कक्षा सञ्चालन गर्न प्रचलित कानून बमोजिम इजाजत प्राप्त वायुसेवा तथा संघ संस्थाले त्यस्तो कक्षा सञ्चालन गर्ने अनुमति पाउँ भनी अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त
दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिन ग्राउण्ड कक्ष सम्बन्धी विर्षयवस्तु पाठ्यक्रम, पाठ्यांशभार तथा प्रशिक्षणमा संलग्न प्रशिक्षकहरुको योग्यता तथा तालीम म्यानुअल समेत स्वीकृतिको लागि पेश गर्नुपर्नेछ । समय समयमा पाठ्यक्रम तथा तालीम म्यानुअल परिवर्तन गर्नुपरेमा सोको लागि कक्षा सञ्चालन हुनु अगावै स्वीकृतिको लागि पेश गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम अनुमति एवं उपनियम (२) बमोजिम स्वीकृतिको लागि पेश भएमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी अनुमति एवं स्वीकृति दिन सक्नेछ ।