दफा ८१
विवरण नपठाएमा जरिबाना हुने
(१) यस ऐन बमोजिम कम्पनीले कार्यालयलाई उपलब्ध गराउनु
पर्ने कुनै विवरण, सूचना वा जानकारी वा कम्पनीलाई पदाधिकारी वा शेयरधनीले उपलब्ध
गराउनु पर्ने जानकारी उपलब्ध गराउन यस ऐनमा कुनै म्याद तोकिएकोमा त्यस्तो म्यादभित्र
सम्बन्धित कम्पनीको सञ्चालक वा त्यस्तो विवरण, सूचना वा जानकारी उपलब्ध गराउनु पर्ने
कर्तव्य भएको पदाधिकारी वा शेयरधनीले त्यस्तो विवरण, सूचना वा जानकारी कार्यालय वा
कम्पनीलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र uदफा ५१, ७८, ८०, १२०, १३१ वा १५६
बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउने देहायका कम्पनीका
सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिष्ट्रारले देहाय बमोजिम जरिबाना गर्नेछ ः-
(क) म्याद भुक्तान भएको तीन महिनासम्मका लागि पच्चीस लाख रुपैयाँसम्म चुक्ता
पुँजी भएको कम्पनी भए एक हजार रुपैयाँ, एक करोड रुपैयाँसम्म चुक्ता पुँजी
भएको कम्पनी भए दुई हजार रुपैयाँर सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी
भए पाँच हजार रुपैयाँ,
(ख) खण्ड (क) बमोजिमको म्याद भुक्तानी भएको मितिदेखि थप तीन महिनासम्मका
लागि पच्चीस लाख रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनी भए एक हजार पाँच
सय रुपैयाँ, एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनी भए तीन हजार
रुपैयाँर सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी भए सात हजार रुपैयाँ,
(ग) खण्ड (ख) बमोजिमको म्याद भुक्तानी भएपछि थप छ महिनासम्मका लागि
पच्चीस लाख रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनी भए दुइहजार पाँच सय
रुपैयाँ, एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनी भए पाँच हजार रुपैयाँ
र सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी भए दश हजार रुपैयाँ,
(घ) खण्ड (ग) बमोजिमको पनि म्याद भुक्तानी भइसकेकोमा पच्चीस लाख रुपैयाँसम्म
चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षको लागि पाँचहजार रुपैयाँ, एक करोड
रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षको लागि दश हजार रुपैयाँ र सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षका लागि बीस हजार
रुपैयाँ ।
(३) उपदफा (१) बमोजिमको म्यादभित्र त्यस्तो विवरण, सूचना वा जानकारी उपलब्ध
नगराउने मुनाफा वितरण नगर्ने कम्पनीको हकमा त्यस्तो कम्पनीको सञ्चालक वा
पदाधिकारीलाई एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीलाई हुने सरहको जरिबाना
हुनेछ ।
(४) उपदफा (२) बमोजिमको जरिबाना तिर्नु पर्ने कुनै सञ्चालक, पदाधिकारी वा
शेयरधनीले सो जरिबाना कार्यालयमा बुझाई पठाउनु पर्ने विवरण कार्यालय वा सम्बन्धित
कम्पनीमा पेश गर्नु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम म्याद भुक्तान भएको अवधि गणना गर्दा यो ऐन प्रारम्भ भएको
मितिबाट गरिनेछ ।
(६) यस ऐन बमोजिम कार्यालयमा पठाउनु पर्ने अन्य विवरण, सूचना वा जानकारी
उपलब्ध नगराउने कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारी वा शेयरधनीलाई त्यस्तो विवरण,
सूचना वा जानकारी उपलब्ध गराउनु पर्ने म्याद समाप्त भएको मितिले एक महिना भुक्तान
भएपछि प्रत्येक एक महिनाको दुई सय रुपैयाँको दरले जरिबाना हुनेछ ।
तर यस्तो जरिबाना एक आर्थिक वर्षमा एकहजार रुपैयाँभन्दा बढी हुने छैन ।
(७) यो उपदफा प्रारम्भ हुँदाका बखत यस ऐन बमोजिम कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी बिबरण, सूचना वा जानकारी संवत्‌ २०८२ साल असार मसान्तभित्र बुझाएमा यस ऐन बमोजिम विवरण, सूचना वा जानकारी ढिला बुझाए बापत लाग्ने जरिबानामा नब्बे प्रतिशत छुट दिइनेछ।